बी १९, जंगपुरा एक्स्टेन्सन

jangpura extension

दिनेश वाग्ले
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा देखिएको स्वरुपमा हेर्नेभए यहाँ क्लिक गर्नुस्

एक महिनाअघि नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पि्रपेड ट्याक्सी चालकलाई मैले गन्तव्य बताएको थिएँ- ‘बी १९, जंगपुरा एक्स्टेन्सन ।’

करिब ४५ मिनेटमा हामी एक्स्टेन्सन आइपुगेर ब्लक बी खोजिरहेका थियौं । चार मिनेटमा हामी ‘बी’ मा थियौं- घरनम्बर १९ खोज्दै । दुई मिनेटमा ट्याक्सी त्यो घरअगाडि आइपुगेको थियो जसको तेस्रो तथा सबैभन्दा माथिल्लो तला कान्तिपुर पब्लिकेसन्सले भाडामा लिएको छ- आफ्नो नयाँ दिल्ली ब्युरो अफिस र ब्युरो प्रमुखको बासका लागि । ट्याक्सी रोकिनासाथ म त्यो भवनअगाडि उभिएको थिएँ जो सम्भवत अबका थुप्रै महिना मेरो घर हुने छ ।

दिल्लीमा घर फेला पार्न त्यति सहज होला भन्ने मैले ठानेको थिइनँ । सहजताको जस, माथि उल्लेख भयो, सजिलो नामांकन प्रणालीलाई जान्छ जसले सहरी ठेगाना ठम्याइलाई काठमाडौंमा डान्स बार फेला पारेजत्तिकै सजिलो तुल्याइदिन्छ । युरोपेली युनियनको सहयोगमा नेपाली राजधानीमा पनि त्यस्तै ठेगाना प्रणाली स्थापित छ तर तुलनै गर्न नसकिने जनसंख्या भएको दिल्लीमा जस्तो व्यापक चलनमा त्यो काठमाडौंमा भएजस्तो लाग्दैन ।

भारतको राष्ट्रिय राजधानी रहेको दिल्ली विश्वकै ठूला सहरमध्येको एक हो जहाँ एक करोड ३० लाख मानिस बस्छन् जो नेपालको जनसंख्याको आधाभन्दा अलिकति बढी हो । सडकहरू फराकिला छन्, चर्किंदो ट्राफिक जाम समस्याको सामना गर्न थुप्रै ठाउँमा रोडमाथि रोड (फ्लाइ ओभर) हरू बनाइएका छन् ।

तर सहरमा गाडीको संख्या बढिरहेको छ जसले ट्राफिक जामलाई नराम्रोबाट खराबतिर धकेलिरहेको छ । चालकहरूले कयौं ठाउँमा गाडी पार्क गर्न ठूलै संघर्ष गर्नुपर्छ । सानो ‘नानो’ आएपछि झन् के होला ? ‘नानो’ खुबै चर्चा गरिएको भारु एक लाखको कार हो जसलाई टाटा कम्पनीले विश्वकै सस्तो कारका रूपमा बजारमा ल्याउन खोज्दै छ । नानोबारेको मेरो प्रश्नमा घरबेटी ७५ वर्षे अंकल मेहराले भारतीय लवजको औपनिवेशकालीन अंग्रेजीमा ठट्टा गरे, ‘प्रत्येक बस्तीलाई एउटा क्रेन चाहिन्छ ताकि कार उचालेर तिनका मालिकको घरको छतमा पार्क गर्न सकियोस् ।’

जन र कार संख्यामा दिल्लीले काठमाडौंलाई माथ गर्छ तर जब रेडियो तरंगको कुरा आउँछ, भारतीय राजधानी नेपाली राजधानीको तुलनामा निकै पिछडिएको लाग्छ । दिल्लीमा जम्मा १३ एफएम स्टेसन छन् जब कि मुस्किलले ३५ लाख जनसंख्या भएको उपत्यकामा झन्डै दुई दर्जन । यहाँका निजी स्टेसनले समाचार दिन पाउँदैनन्, सरकारी अल इन्डिया रेडियोले मात्र पाउँछ जो काठमाडौंवासी या कुनै पनि नेपालीका लागि एकाधिकारवादी र व्यापक रूपमा गैरलोकतान्त्रिक लाग्न सक्छ । विश्वको सबभन्दा ठूलो लोकतन्त्रले निजी रेडियोलाई समाचार भन्न दिँदैन र त्यो ठट्टा होइन । दिल्ली आएपछि मैले थकथक मानेको चाहिँ बीबीसी विश्व सेवा रेडियोको अभावमा हो जब कि काठमाडौंमा त्यो २४ सैं घन्टा छुट्टै स्टेसनमार्फत उपलब्ध हुन्छ ।

भारतमा रेस्टुरेन्ट तथा अफिसजस्ता सार्वजनिक स्थलमा धुम्रपान गर्न मनाही छ । गत अक्टोबरमा प्रतिबन्ध भएयता धूवाँ पिउनेलाई त्यो काम गर्नु चुनौतीपूर्ण छ । हालै म न्युरोडको समकक्षीजस्तै लाग्ने खान मार्केटमा दुई भारतीय साथीसँग गएको थिएँ । उनीहरूले चुरोट पिउन चाहे तर सिगरेट निकाल्नुअघि वरिपरि पुलिस नभएको पक्का गरेर मात्र । बाटामा उभिएर खाएकाले उनीहरूले नियम उल्लंघन त गरेनन् तर भारत न हो नियमकानुन धुवैंमा उड्छन् । हुँदैन भनेकै ठाउँमा चुरोट खाइरहेको थुप्रैलाई देख्न सकिन्छ । ‘अरे भाड मे जाए यार रुल,’ दिल्लीमा मेरो अर्को साथीले भन्यो र चुरोट सल्कायो ।

रक्सीको बिक्रीवितरणचाहिँ कडाइसाथ व्यवस्थित गरिएको रहेछ । नेपालमा जस्तो जहँतहीँका किराना पसलमा मिनिरल वाटरझैं बियर या हि्वस्की देखेको छैनँ । म खासै पियक्कड होइन तर आफ्नै उत्सुकता र अर्का एक भारतीय साथीको आग्रहमा म जंगपुरा एक्स्टेन्सनकै एउटा ‘सराबका दुकान’ मा पुगेँ । साथीले पसलेसँग मेरो परिचय गराए- नेपालबाट आएको मान्छे । ‘अरे, मैने वहाँ काम किया हे,’ बिलिङ डेस्कपछाडिको मान्छेले प्रफुल्लित हुँदै काठमाडौंमा बियर वितरण कम्पनीमा काम गरेको बताउँदै भन्यो, ‘इन्के वहाँ तो सराब जहींतहीं मिल्ते हें ।’ -मैले त्यहाँ काम गरेको छु । उता रक्सी जहींतहीं पाइन्छ ।)

नेपालमा सरकारले रक्सी बेचबिखनलाई नियमित तुल्याउने अघिल्लो दिनको समाचार मैले उल्लेख गर्दा पसलेले भन्यो, ‘तो काफी लोग बेरोजगार होंगे वहाँ ।’ (त्यसो भए थुप्रै मान्छे बेरोजगार हुने छन् त्यहाँ ।)

दिल्लीको उत्कृष्ट पक्षचाहिँ यहाँका रूख लाग्यो । सबैलाई एकै ठाउँमा राख्ने हो भने म अनुमान गर्छु, यहाँका रूखले शिवपुरी राष्ट्रिय निकुञ्जजत्रै जंगल बनाउँछन् । फुत्त गुगल सर्च गर्दा थाहा भयो यी रूखबारे थुप्रै किताब लेखिएका छन् र तीमध्येको एउटा प्रदीप क्रिसेनको ‘टि्रज अफ दिल्ली- अ फिल्ड गाइड’ ले समीक्षकबाट राम्रै प्रशंसा पाएजस्तो देखियो । दिल्लीमा २ सय ५२ प्रजातिका रूख भएको र त्यो ‘न्युयोर्कका यस्तै १ सय ३० जति’ भन्दा बढी भएको लेखकले एउटा वेबसाइटसगको अन्तरवार्तामा बताएका छन् । (अँ, साँच्ची, क्रिसेनकी श्रीमतीचाहिँ विश्वभरि अरुन्धती रोयका नामले चिनिन्छन् ।)

सडक किनारमा जहींतहीं रूख देख्दा दिल्लीले ‘एक घर, एक रूख’ नारा लगाइरहेजस्तो लाग्छ अनि यी रूख दिल्लीका बाँदरका घर (र अफिस) हुन् । दिल्लीको समाजमा बाँदरको प्रतिष्ठा उति राम्रो भएको मैले पाइनँ । तिनीहरू अनुमतिबिनै मानिसको घरभित्र छिर्छन् र अंकल मेहराले सम्भिmएअनुसार पिजमा राखेको केरा झिक्न या तिनलाई त्यसो गर्नबाट रोक्ने दुईखुट्टे समकक्षीलाई आक्रमण गर्न बाँकी राख्दैनन् ।

रूखको कुरा गर्दा अघिल्लो साता दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय बाल प्रस्तुति कला महोत्सवमा काठमाडौंको जेम्स स्कुल र सर्वनाम समूहले देखाएको नेपाली नाटकले हाम्रो जीवनमा रूखको महत्त्वलाई उजिल्याएको थियो । उसो त हामी पनि त्यस्तो मुलुकका हौं जसको आदिवासी रूख-नारा छ- ‘हरियो वन नेपालको धन’ र हामीले अरनिको राजमार्गछेउ भएका अलिअलि रूखलाई पनि भटाभट गिँडेका छौं ।

रूख दिल्लीका जीवनधारामध्येका हुन् जसले अनेकौं प्रदूषणले व्यस्त सहरका बासिन्दालाई निरन्तर अक्सिजन दिइरहन्छन् । मानिस यहाँ अझै सीएनजी-पूर्वका वर्ष सम्भिmछन् जतिबेला बस र टेम्पो (अटो) पेट्रोल-डिजेलबाट चल्थे । अहिले सार्वजनिक (र केही हदसम्म निजी) यातायातले वातावरणमैत्री ‘कम्प्रेस्ड नेचुरल ग्यास’ (सीएनजी) प्रयोग गर्न थालेकाले सहर सहन सकिने भएको छ । ‘सास फेर्न पनि गाह्रो थियो,’ बितेका १२ वर्षदेखि यहाँ बसिरहेका एक नेपालीले भने, ‘यो त (हावाको गुणस्तरमा) क्रान्तिकारी सुधार हो ।’

सहरको अर्को गहना यसका मनोरञ्जन पार्क हुन् जसको वरिपरि एउटा छुट्टै संस्कृति अडेको छ । मानिस त्यहाँ गएर समय बिताउँछन्, दौडिन्छन् । जंगपुरा एक्स्टेन्सनमा प्रत्येक ब्लकमा एउटा पार्क भएजस्तो लाग्छ । सबैभन्दा नजिकको पार्कको ‘चौकीदारी’ सुदूरपश्चिमका एक नेपालीले गर्छन् । ‘खासमा घरमा मेरो नाम हर्कबहादुर हो तर यहाँ श्यामबहादुर’ उनले मेरो एउटा प्रश्नमा भने, ‘देसीले चिन्दैन, जे भन्दे पनि के भयो र ?’ सही हो । देसी अर्थात् भारतीय जसको गाडी ऊ बिहान धुन्छ, सम्पत्तिको रक्षा गरिदिन्छ र सुमधुर निद्राका लागि रातभरि पार्कमा पहरा दिन्छ- ती ‘देसी’ उसको नामको ‘श्याम’ बिर्सेर ‘बहादुर’ मात्रै भन्छन् । त्यो सम्बोधनमा प्रशंसा होइन बरु हेपाइको झल्को पाउन सकिन्छ तर त्यसमा ‘देसी’ को साटो नेपाली समाजमा व्याप्त गरिबी दोषी छ ।

लेखक कान्तिपुरका नयाँ दिल्ली ब्युरो प्रमुख हुन् ।

About these ads
This entry was posted in Uncategorized and tagged . Bookmark the permalink.

6 Responses to बी १९, जंगपुरा एक्स्टेन्सन

  1. Delhi ko dhum machaune diary ramailo 6……ani yo line pani ramailo 6….म खासै पियक्कड होइन तर ……….

  2. Shikha says:

    You are simply superb with your simple but soul-catching words.

  3. duracharya says:

    (अँ, साँच्ची, क्रिसेनकी श्रीमतीचाहिँ विश्वभरि अरुन्धती रोयका नामले चिनिन्छन् ।)
    i think Krishen ki Shrimati Roy Hun bhanda ajha ramro hunthyo ki ? (Please consult your editor)

    As you have track down Pradeep Krishen why don’t you do an interview with him ? Or just read the book you mention and give a review.

  4. Raju Yatri says:

    बोलाउने नाम हुँदा हुँदै नेपाली भन्नासाथ “बहादुर” भनेर शम्बोधन गर्न रुचाउने कथित ईण्डियनहरुलाई अब kantipur ko india correspondece भएपछी सम्झौनुस् है वाग्लेजी ……के हो बहादुर र के हो नेपाली को पहिचान भनेर ….

  5. nepalean says:

    यस्तै छ हामी सधै बाहादुर। के गर्ने बुद्दी भन्दा बलै धेरै।
    अर्को छुट्टै कुरा पाठक सम्क्ष। खास त नेपाली ब्लगको नाली बेली खोत्लने काम नै हो।
    प्रतिव्द्दता सित सजग रहनु राम्रै हो। आशा छ प्रतिव्द्दता अनुरुप नै काम हुनेछ। तर मैले यांहा भने ब्लग समबन्धी सहयोगको लागी पाठकसंग अनुरोध गर्दैछु। (यस्लाइ स्पाम हैन की ब्लगिगं को महत्वपुर्ण पाइला ठानीदिनुहोला)
    Friends
    I have written a blog which is basically intend to collect nepalese blog informtion.दौंतरीमा मैले यस्को जमर्को गरेको छु। साथीहरु सबैले सक्दो सहयोग गरौं र नेपाली ब्लगको सबै कुरा डकुमेन्ट गरौं। यसमा
    तपाइले पहिले पढ्नु भएका ब्लगको नाली बेली या छोट्करीमै भए पनि लेख्नुहोला।
    http://dautari.org/2009/01/blog-post_4621.html
    धन्यबाद
    नेपालियन

  6. Pingback: B 19, Jangpura Extension [New Delhi-110014, India] « Wagle Street Journal

के सोचिरहनु भएको छ ?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s