राराको छेउ, नजर जुर्राईदेउ

दिनेश वाग्ले

लसुन र गदाइनो जडिबुटी हालिएका साना झोला बोकेका, जीन्स पाइन्टलाई मोजा भित्र घुसारेका र मातेको मान्छेको जस्तो राता आँखा बनाएका- १५ बर्षे जगबहादुर भन्डारी र १३ बर्षे प्रकाश भन्डारी ।

रारा तालको पहिलो झल्को पाइने आशामा जुम्ला-मुगु सीमाको कराली खर्क लेक उक्लिने वित्तिकै तल कतैबाट एउटा सुरिलो आवाज आएको थियो ।

सम्झी नरुनु
म त पागल भएनी हे बहिनी
तिमी नहुनु

असार अन्तिम साताको त्यो घमाइलो दिन दुइजना मान्छे हिलो सुक्दै गरेको उकालो फुर्तीसाथ चढीरहेका थिए । स्वाँ-स्वाँको संकेत नदिइ दुबै ‘सम्झि नरुनु’का भाकामा दोहोरी सम्बाद गरिरहेका थिए । फुच्चेहरु पो रहेछन् । लसुन र गदाइनो जडिबुटी हालिएका साना झोला बोकेका, जीन्स पाइन्टलाई मोजा भित्र घुसारेका र मातेको मान्छेको जस्तो राता आखा बनाएका- १५ बर्षे जगबहादुर भन्डारी र १३ बर्षो प्रकाश भन्डारी ।

‘रातभरी केटी जिस्काएर आ’का,’ बाटोमा भेटिएपछि एउटै गन्तव्यका कारण नजिकिएका सहयात्री रोमबहादुर महतले केटाहरुले सुन्नेगरी भने । रारा राष्ट्रिय निकुन्जका कर्मचारी रोमबहादुरले उनीहरुलाई चिन्दा रहेछन्- जुम्लाकै विकट भनिने चौथा गाउँमा बस्ने जगबहादुरका दुइ दिदी र उनीहरुका दाजुभाई पतिहरु निकुन्जमा क्यान्टिन चलाउछन् । मुगुको गमगढी नजिकै बस्ने प्रकाश र जगबहादुर नातेदार हुन् । प्रकाशलाई साथी पनि हुने, दिदी भिनाजुहरुपनि भेटिने भनेर जटिबुढी कोसेली बोकेर जगबहादुर उकालो हानिएका रहेछन् ।

‘तपाईहरु हिड्दै गर्नु,’ केहीवेरको आरामपछि ‘हिडौं’ भन्दा जगबहादुरले जवाफ दिए । रंगीन फुलहरुले ढकमक्क डाँडाँहरु हिडेर तिउने खर्क पुगेपछि रोमबहादुरले चिच्याए- ‘ए.र्.र्.इ.. जा’म ।’ एकछिन पछि उनी फेरी कराए- ‘आओ है । जाम । पानी पर्छ ।’ केटाहरु बसेको ठाउबाट चलमलाउदैनन् । ‘ती सुते,’ डाँडाँमा दुइतिर झोला विसाएर ढल्केका केटाहरुतिर हेर्दै रोमबहादुरले भने- ‘आँखा राता छन् । राती सुतेका छैनन् ।’

माया लाउछौं घातैघातको
दिन ढल्केर रात भो
मन उडेर पात पात भो

केटाहरु फेरी गाउन थाले । आधा घन्टापछि रारा लाग्ने ओरालो शुरुहुनै लाग्दा उनीहरुले हामीलाई भेट्टाएपछि थाहा भो दुबै राती सुतेका थिएनन् । अघिल्लो दिन जगबहादुरको स्कुल श्री महादेव निमावीको बार्षिकोत्सवमा दिउसोका कार्यक्रम सकिएपछि साँझ उनीहरूले दोहोरी थालेका रहेछन् । विहान तीन बजेसम्म गाएपछि सुतेका केटाहरु छ बजे उठेर बाटो लागेका थिए । ‘केटी जिस्काको होइन,’ प्रकाशले रोमबहादुरको ठट्यौली संकेत गर्दै भने- ‘मेरो मावली गाउँ हो त्यो । जुम्लाबाट फर्केको । कार्यक्रम रहेछ । हेरेर जाउँ भनेर एकरात बसें ।’

जुम्लाका हसिला ठिटाहरु : जंगलका गायकहरु !

‘जुँगाको रेखी बसेछ,’ एउटा खुट्किलोमा ओर्लिन लागेको जगबहादुरको ओठमा हल्का रौंहरु देखेपछि मैले ठट्टा गरेको थिएँ- ‘अब तन्नेरी भइयो ।’ अनुहार रातो बनाएको जगबहादुरले मलाई लजाएकी किशोरीले झैं हेरिरहँदा प्रकाशले एउटा चोटिलो जवाफ दिएको थियो- ‘मर्दको छोराको जुँगा आइहाल्छ नि !’

जगबहादुर बाटो आसपास झाडीमा छिरेर अचार बनाउने हाँगाहरु भाँच्न व्यस्त हुँदा प्रकाश बेलाबेलामा गीत गाउँदै मसँग गफिन थाल्यो । मैले ऊसँग जुम्ला-मुगुको जिन्दगीबारे सोधेको थिए । ‘हामी यहीँ जन्मेका,’ प्रकाशले भन्यो- ‘यहीँ हुर्केका । हिड्न बानी परियो । अहिले झोलामात्रै छ, ३० केजीको भारी बोकेर हिड्नु पर्छ । तल्तिरका मान्छेलाई गाह्रो हुन्छ किनकी उनीहरु बानी परेका हुदैनन् ।’

मैले दुइ साताको कर्णाली यात्रामा भेटेका मध्ये सबैभन्दा तेज केटा थियो ऊ जोसँग यो क्षेत्रको विकाशबारे आफ्नै योजना र सपना थिए । ‘अशिक्षा यहाको ठूलो समश्या हो सर,’ ओरालीको एउटा चिप्लो भाग नाघेपछि उसले भन्यो- ‘मान्छेले पढेका छैनन् । हन्ड्रेडमा हन्ड्रेड पर्सेन्ट शिक्षित भए भने विकास हुन्छ ।’ पहिलेका मान्छेले जानेनन्, उसले भन्यो, जडिबुटी भएर के गर्नु उपयोग गर्न सकेनन् । ‘कला विनाको गला,’ ‘परिस्थितीले जे ल्याउछ, भविश्यमा त्यही गर्ने’ योजना भएको ठिटोले भन्यो- ‘गला विनाको कला ।’ सबैभन्दा पहिलो आवश्यकता यातायात भएको औल्याउदै उसले त्यसपछि खानेपानी, विद्युत र रोजगारीमा जोड दियो ।

dinesh wagle n rom bahadur mahat

रोमबहादुर महतसँग दिनेश वाग्ले (दायाँ)

रारा ताल मास्तिरको कराली खर्कमा रोमबहादुर महत

जगबहादुर र प्रकाशसँग वाग्ले

हामी रारा आउनै लागेका थियौं र मसँग गफिदैगर्दा प्रकाशले गीत गाउन छाडेको थिएन-

रारातालको छेउ
मनपर्ने मायालु नजर जुर्राईदेउ

‘दु:खको कुरा,’ राराबारेका सपना मेरो डायरीमा उतार्न आग्रह गरेपछि प्रकाशले लेखेका थियो- ‘निकुन्जमा होटल, आर्मी क्याम्प र निकुन्ज कार्यालयले ताललाई फोहोर बनाएका छन् ।’

आठौं स्कुलमा आठौं कक्षा पढिरहेको प्रकाशको परिवार चौथाबाट विस्थापित भएर गमगढी नजिकैको लामाचौरमा बस्छ । बाबु सेनाको तरकारी ठेक्का गर्छन्, आमा परिवारको मूलीको भूमिकामा छिन् । ‘म चार कक्षासम्म पढेकी,’ एउटा संयोगको भेटमा प्रकाशकी २९ बर्षे आमाले भनिन्- ‘मलाई थाहा छ विद्यार्थीको दुख । भारी नबोके पनि पढ्न सुख हुदैन । जति दु:ख गरेर पनि उसलाई पढाउछु ।’ भाइबहिना भन्दा प्रकाश सज्जन र जिम्मेवार भएका उनले बताइन् ।

कर्णाली घुमाउ टोपर्यो लौरी बगाउदैन
बैरागीका बाजा मन डुली अगाउदैन

मेरो अनुरोधमा जगबहादुरले क्षेत्रको चर्चित देउडा गाएपछि रारा आइपुग्ने बेला रोमबहादुरले केटाहरुसँग दोहोरी थाले- रातभरी नडुल, विग्य्रौला । तत्कालै प्रतिवाद आयो-

जाडोले मनभित्र छुदैन
गीत गाउदा विग्रेको हुदैन

प्राय क्यासेट र रेडियो नेपालमा गीत सुन्ने केटाहरु यदाकदा बजारमा टीभी हेर्दारहेछन् । बाटोभरी लोक-दोहोरी गाएपनि प्रकाशले सबैभन्दा मन पर्ने गायकको नाम भन्दा म अचम्मित भएको थिए । ‘स्वरुपराज आचार्य,’ उसले भन्यो र गाउन थाल्यो-

धेरै माया दिदा रैछन् मुटु चोरी लानेहरु
प्रेमको पखाईमा बस्दा रैछन् साचो माया दिनेहरु

त्यसपछि उसले गायकको नाम विर्सिएको भन्दै ‘मनकी रानी’ एल्बमको गीत सुनायो-

कालो वादल फाटेर हो कोही दिन त घामलाग्ला
यो दुखिलाई सम्भियौ भने अप्ठेरोमा काम लाग्ला
हे मैच्याङ् कालो केशमा रिवन बाँधेको

रारा नजिकै मिलिमा वाग्ले । ताल पृष्ठभूमीमा ।

रंगीन फुलहरुले ढकमक्क रारा किनारमा वाग्ले

भूई ऐसेलुले भरिएको प्लेट समाउदै वाग्ले । ती फल रारा ताल किनारको जंगलबाट टिपिएका हुन् (माथी)

त्यति सुनेपछि उनीहरुलाई ट्रिट गर्ने पालो मेरो थियो । झोलाबाट आईपोड निकालेर प्रकाशका कानमा इयर फोन अड्काएपछि मैले नेपाली लोक रिमिक्स गीत घन्काईदिएको थिए । मलाई यस्तो लाग्यो, त्यो उसको जीन्दगीमै एउटा अविस्मरणीय सांगीतिक क्षण हो । नजिकै शान्त रारा अस्ताउदो घाममा टलपलाइरहदा प्रकाश त्यस अघि कहिल्यै नसुनेको गीत गुनगुनाउन थाल्यो- ठूलो स्वरमा ।

घरबेटी…. आगनीमा….बास…
…दिलैमा …बास

‘यी गीत मैले सुनेको थिएन,’ प्रकशले आइपोड अनुभव सुनायो- ‘सबै ध्यान त्यसैमा आकर्षित हुँदो रहेछ ।’ चर्को स्वरको इयरफोन सुन्नेलाई आफूले ठूलो स्वरमा गुनगुनाएको थाहा हुदैन । त्यसैले प्रकाशले गायकलाई पछ्याउने प्रयासमा कराउदा जगबहादुर ‘किन केही शब्दमात्र त्यस्तरी कराएको होला’ भन्न खोजेझैं हेरी रहेको थियो । आधा घन्टापछि आइपोड जगबहादुरसँग थियो र ऊ वेस्सरी ‘बाइरोड… उडाउदै…धुलो’ कराउँदा प्रकाशले हाँसो थाम्न सकेन ।

बादल लागेको एक विहानी रारा ताल

नेपालको सबैभन्दा ठूलो ताल पाच किलोमिटर लामो र दुई किमी चौडा छ ।

ताल १६७ मिटर गहिरो छ ।

United We Blog!: Up to Rara Lake with Dohori Dhun All the Way

Posted in वाग्ले जर्नल | Tagged , , , , | 6 टिप्पणीहरु

अमेरिकी राजदूतको फेसबुक कूटनीति

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आज  कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए: तलका तस्बिरमा क्लिके हुन्छ ।

facebook diplomacy front page kantipur

ठूलो पार्न क्लिके हुन्छ

सामान्यतः टाउकोभरि कपाल र सफा गाला मनपराउने केही नेपालीले अचेल तालु खाली भएका र झ्याप्प दाह्री पालेका एक अमेरिकीमा नायक भेट्टाएका छन् । देशको बिग्रँदो चालाबाट निराश सर्वसाधारणले दिनहुँजसो अमेरिकी राजदूतसँग गुनासो गरिरहेका छन् ।

अनि स्कट एच. डेलिसीले पनि लोकप्रिय भावनाअनुरूपका वक्तव्य सार्वजनिक गरेर इन्टरनेट प्रयोग गर्ने केही नेपालीहरूको वाहवाही पाएका छन् । तर फेसबुकमार्फत इन्टरनेटमा पहुँच भएका नेपालीहरूसँग भइरहेको अमेरिकी कूटनीतिज्ञको बढ्दो र कतिपय सन्दर्भमा खुलस्त अन्तक्रिर्या मूलधारका पत्रिकाहरूमार्फत बृहत् नेपाली समाजमा पोखिन थालेपछि त्यसले नेपालका केही शक्तिकेन्द्र र राजनीतिक दलहरूलाई अप्ठ्यारोमा पारेको छ ।

‘असन्तुलित विचार’

नेपाली कांग्रेसले पाँच वर्षपछि पहिलो पटक सोमबार देशैभर गरेको बन्दप्रति सार्वजनिक रूपमै असहमति राखेका डेलिसीले लोकतान्त्रिक मान्यता विपरीतको त्यस्तो हिंसात्मक विरोधले नेपाली अर्थतन्त्रलाई राम्रो नगर्ने आशय प्रकट गरे । तर डेलिसीको त्यो दबाबमूलक फेसबुक अभियानबारे जानकार तथा अमेरिका र अन्तर्राष्ट्रिय जगत्सँग राम्रो सम्बन्ध भएको पार्टी कांग्रेसका नेताहरूले शनिबारदेखि नै डेलिसीलाई टेढो आँखाले हेर्दै राजदूतको अभिव्यक्तिलाई ‘असान्दर्भिक’ र ‘राम्ररी सुसूचित नभएको’ भनी प्रतिवाद गरिरहे । हडतालको ‘कारक’ (चितवनस्थित जेलमा थुनिएका कांग्रेस कार्यकर्ताको हत्या) बारे ‘नबोलेका’ कूटनीतिज्ञले त्यसको विरोध कार्यक्रमप्रति ‘नकारात्मक टिप्पणी’ गर्नु ‘असन्तुलित’ भएको उनीहरूको तर्क छ । पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कान्तिपुर | Tagged , , , , | 5 टिप्पणीहरु

नि हाओ नेपाल !

नेपालमा कसरी बढ्दै गएको छ चिनीयाँ रुचि, लगानी र व्यापार, अनि त्यसले कसरी बढाउदै छ राजनीतिक र सामाजिक प्रभाव ?

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आज  कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए: तलका तस्बिर या पीडीएफ पहिलो पेजबाँकी  मा क्लिके हुन्छ ।

ni hao nepal Kantipur front page

ठूलो पार्न क्लिके हुन्छ

प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ प्रधानमन्त्री पुस ५ मा नेपाल आउने घोषणा गरे पनि भनिएकै समयमा उनी नआउने भएका छन् । तर पछिल्ला केही वर्षको प्रवृत्ति नियाल्दा प्रधानमन्त्री नआउँदैमा नेपालमा चिनियाँ चासो घट्ने देखिन्न । काठमाडौंमा रहेका केही चिनियाँ र चीनलाई नियाल्ने नेपालीका अनुसार अबका केही वर्ष चिनियाँहरू अझै बढी पैसा, सामान र सम्भवतः राजनीतिक प्रभाव पनि लिएर नेपाल छिर्दैछन् ।

बढ्दो व्यापार, बढ्दो घाटा

चिनियाँ नेता देङ सियाओ पिङले १९७८ मा आर्थिक सुधार कार्यक्रम लागू गरेपछि उन्नति गर्न थालेको चीनले ठ्याक्कै १० वर्षअघि विश्व व्यापार संगठनमा छिरेर अन्तर्राष्ट्रिय व्यापारमा दरिलो यात्रा थालेको थियो । ‘त्यसपछि धेरै चिनियाँ बाहिर निस्कन र अरू देशमा आएर व्यापार गर्न थाले,’ २८ वर्षे चिनियाँ शी सानले भनिन्, जो डेढ वर्षदेखि पति हुङसँग मिलेर काठमाडौंको बिजुलीबजारमा एउटा चिनियाँ रेस्टुरेन्ट र होटलसमेत चलाइरहेकी छन् । ३५ लाख जति नेपाली रुपैयाँको लगानीमा खोलेको रेस्टुरेन्टबाट सन्तुष्ट शीले भनिन्, ‘यहाँको वातावरण पनि एकदम राम्रो, मेरो गृहसहरको भन्दा ।’ पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कान्तिपुर | Tagged , , , , | टिप्पणी छोड्नुहोस्

लुम्बिनीमा लगानी

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आज  शनिबारको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए  यहाँ  यहाँ  (पीडीएफ) क्लिके हुन्छ ।

ठूलो पार्न क्लिके हुन्छ

पुष्पकमल दाहाल सहअध्यक्ष रहेको एउटा रहस्यमयी चिनियाँ गैरसरकारी संस्थाले लुम्बिनीमा ‘तीन अर्ब डलर’ ओइर्‍याउने हल्ला विस्तारै सेलाउँदा बुद्धको जन्मथलोमा के-कस्तो विकास गर्न सकिन्छ भन्नेबारे कोरियाली सरकारले दरिलो चासो देखाएको छ । त्यो चासो केहीअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेको न्युयोर्क यात्रा र लुम्बिनीलाई लिएर भइरहेका केही अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रयासअन्तर्गतको एउटा भाग हो । यो कोरियाली प्रयासमा राष्ट्रसंघीय महासचिव बान कि-मूनको प्रत्यक्ष संलग्नता छ भने बानको देश कोरियाका एक प्रभावशाली योजनाकारले संयोजनकारी भूमिका खेलिरहेका छन् ।

अमेरिकाका मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी र हार्वाड विश्वविद्यालयमा पढेका र केही कोरियाली विश्वविद्यालयहरूमा पढाउने आर्किटेक्ट (योजनाकार) क्वाक योङ्हुन कोरियामा राजनीतिक दृष्टिले प्रभावशाली मानिन्छन् । उनी महासचिव बानका साथी पनि हुन् । उनीहरू दुवैका आमा पनि एकअर्काका साथी हुन् यद्यपि क्वाककी (स्व) आमा क्रिस्चियन थिइन्, बानकी बौद्धमार्गी । क्वाककी पत्नी किम चुङ् कोरियाको संसद् (नेसनल एसेम्ब्ली) की सदस्य हुन् । त्यस्तै, कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका) का प्रमुख पार्क डे-वोनसँग पनि क्वाकको नजिकको सम्बन्ध रहेको बताइएको छ । त्यो सम्बन्ध अनि बानको चाहनाका कारण तत्काललाई लुम्बिनीमा के गर्न सकिन्छ भन्नेबारे बुझ्न १६ करोड रुपैयाँको अध्ययन गरिहाल्न कोरियाले नेपाल सरकारसँग सम्झौता गर्न लागेको यी सबै मामिलाबारे जानकार स्रोतले कान्तिपुरलाई बतायो । पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कान्तिपुर | Tagged , , , , | टिप्पणी छोड्नुहोस्

प्रधानमन्त्री बाबुराम भट्टराईका सय दिन

प्रधानमन्त्री बाबुराम भट्टराईका सय दिन

प्रधानमन्त्री भट्टराईको कार्यकालका प्रथम तीन महिनामा शान्ति प्रकृयामा प्रगति भयो, शुसासनको धज्जी उड्यो, कुटनीतिमा उनलाई केही सफलता मिल्यो । नराम्रा कामको अपजस सबै उनैलाई जानु स्वभाविकै भयो तर राम्रोको जस उनलाईमात्र जादैन ।

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ : (पीडीएफपहिलो पेज र १४  पेज । चित्रकारुपमा हेर्ने भित्र/तल

खोप्लाङ, गोर्खाका बाबुराम भट्टराईले प्रधानमन्त्रीका रूपमा यो साता बालुवाटार, काठमान्डुमा सय दिने मधुमास पूरा गर्दैछन् । सामान्य अवस्थामा उनको कार्यावधिको मूल्यांकन आगामी मंगलबार थालिनुपर्ने हो । तर कतिपय रुष्ट नेपालीहरूले आफ्ना ३५ औं प्रधानमन्त्रीको राजीनामा अहिल्यै मागिसकेका छन् ।

‘बाबुराम, पद छाड’ भन्नेहरूको त्यो सूचीमा विपक्षी दलहरूका नेता र आफ्नै पार्टीभित्रका ‘खुट्टा तान्ने कमरेडहरू’ मात्रै भए त्यसलाई राजनीतिक दाउपेचको एउटा अस्वाभाविक उदाहरण भन्दै अस्वीकार गर्न हुन्थ्यो । तर यहाँ दुई महिनाअघिसम्म ५७ वर्षे भट्टराईलाई ‘हृदयका राजा’, ‘आशाका केन्द्र’ र ‘आइडल’ जस्ता प्रेम र प्रशंसाका शब्दहरू बर्साउने कतिपयले नै सबैभन्दा ठूलो मन्त्रिमण्डल बनाएको, हत्यारालाई माफी दिन खोजेको, प्रशासनयन्त्रलाई ‘ध्वस्त’ बनाएको भन्दै गाली गरेका छन् । प्रशंसकहरू निराश हुँदै उनलाई आफ्नो अपेक्षाविपरीत, अघिल्ला प्रधानमन्त्रीहरूजस्तै, निष्प्रभावी र ‘उही ड्याङका मूला’ भन्न थालेका छन् भने आलोचक र शंकालुहरू चाहिँ ‘मैले त भनेकै थिएँ नि’ जस्ता शब्दावलीबाट कुरा थाल्छन् ।

‘पहिले घरभित्र पसेर अवस्था के छ भन्ने नबुझी उहाँले बोल्नुभयो, मान्छेहरूले आशा गरे,’ पूर्वप्रशासक तथा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भने, ‘अर्थमन्त्रीका रूपमा बनेको उहाँको राम्रो छविमा आधारित भएर जनताले उहाँबाट बढी नै आशा गरे । व्यक्तिगत रूपमा उहाँ अहिले पनि बदनाम हुनुभएको छैन । ‘भट्टराईले यसो गरे, उसो गरे, खाए’ भन्ने सुनिएको छैन । शान्ति प्रक्रिया टुंगिने बाटोमा बढेको छ, त्यसको जस उहाँलाई जाला । तर शासनलाई राम्रो पाटोमा लैजान र नतिजा देखाउने सन्दर्भमा उहाँ असफल हुनुभयो ।’

यो लेखको बाँकी भाग यहाँ छ ।

Posted in कान्तिपुर | Tagged , , | टिप्पणी छोड्नुहोस्

राज्य पुनर्संरचनाको मैदानमा ‘जनजाति’ र ‘गैरजनजाति’ लडाइँ


janajati and state restructuring1

ठूलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ  र यहाँ  क्लिके हुन्छ ।

देशका थुप्रै आदिवासी जनजातिहरूले गए साता सन्तोषको लामो सास फेर्दा त्यसमा केही वर्षयता नेपाली राजनीतिलाई निर्देशित गर्ने उनीहरूको बढेको क्षमता झल्कियो । उनीहरूलाई सन्तोष र विजयको सास फेराउने त्यो घटनाले नेपालमा जारी संक्रमणकालीन द्वन्द्व मुख्यत ‘जनजाति’ र ‘गैरजनजाति’ बीच निश्चित भएको प्रमाणित गरेको छ । अनि त्यो लडाइँ बढ्दोरूपमा ‘राज्य पुनर्संरचना’ नामको मैदानमा भइरहेको छ । संघीयतामा जाने निर्णय गरिसकेको देशले राज्यको भावी संरचनाबारे जोडदार बहस गरिहँदा जनजातिहरू ‘पहिचान अनि सामर्थ्य ‘ र गैह्र जनजातिहरू ‘सामर्थ्य अनि पहिचान’ को हतियार लिएर मैदानमा उत्रेका छन् । र, दुवै पक्ष एक अर्काको नियतप्रति गहिरोरूपमा सशंकित छन् । ‘शंका बुझाइको कमीले भएको हो,’ मानवशास्त्री तथा जनजाति अभियन्ता डम्बर चेम्जोङले भने, ‘सबै मान्छे अधिकार सम्पन्न हुनु भनेको कसैको घटने र कसैको बढ्ने होइन । (जनजाति) राजनीतिकरूपमा अधिकार सम्पन्न हुँदा (गैरजनजाति) को अधिकार खोसिने भन्ने होइन ।’ पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कान्तिपुर, संक्रमणकाल | Tagged , , , | टिप्पणी छोड्नुहोस्

स्टिभ जब्स

steve jobs by walter isaacson on ipad

वाल्टर आइज्याक्सनको किताव स्टिभ जब्सको आवरण आइप्याडमा

dinesh wagle steve jobs pose

दिनेश वाग्ले

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर (हेल्लो शुक्रबार) मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ (पीडीएफ)

समाचार– कमल दहलाई सिरानीमा राखेर एउटा पहाडको काखमा अडिएको सुन्दर बस्ती, रुकुमको पुरानो सदरमुकाम, रुकुमकोटमा एनसेलको संकेत नपाउदा म निराश भएको थिए । दह मास्तिरको डाडामा हिड्दा केही परको रोल्पाली गाउँ थवाङमा ठड्याइएको नेपाल टेलिकमको टावरले फालेको कमजोर संकेत फोनले टिपेको थियो । तर त्यो रात विताउनुपर्ने बस्तिमा ओर्लदैगर्दा त्यो पनि हराएको थियो ।

मध्य पश्चिम नेपालका डाडाहरुमा पैदल हिड्दा इन्टरनेटबाट अलग्गिएको चार दिन भएको थियो । पाचौ दिनमा रुकुमकोटबाट जीप चढेर सदरमुकाम पुग्नासाथ मैले झोलाबाट आइप्याड निकालेर ट्विट्टर एप खोलेको थिए । फुलब्राइट छात्रबृत्तीमा नेपालमा आएका एकजना अमेरिकी काइल नाइटको एउटा ट्विटले मेरो ध्यान तत्कालै आकर्षित गर्‍यो र, त्यो पढ्दै गर्दा, मनमा चिसो पस्यो । पढ्नेक्रम जारी राख्नुहोस्

Posted in प्रबिधी, हेल्लो शुक्रबार | Tagged , , , , | १ टिप्पणी